काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डले क्लासिक भ्यु रिसोर्टमा लगानी गरेको छ । ग्लोबल इक्विटी फन्ड, हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्सद्वारा संयुक्तरूपमा प्रवद्र्धन गरिएको यो फण्डले लक्जरी रिसोर्टमा लगानी गरेको हो ।
शिवपुरी वन क्षेत्रको मनमोहक दृश्यका साथ बुढानीलकण्ठको पहाडमा अवस्थित क्लासिक भ्यु रिसोर्ट एक लक्जरी पर्यावरण–मैत्री रिसोर्ट हो । यो रिर्सोट हाल निर्माणको अन्तिम चरणमा छ । जुन २०२४ मा सफ्ट ओपनिङ’ गर्ने गरी काम भइरहेको रिसोर्टले जनाएको छ । शिवपुरी जंगलको रमणीय दृश्यका साथ पर्यटकहरूलाई अनुपम अनुभव प्रदान गर्ने यो उच्चस्तरको पर्यावरण मैत्री रिसोर्ट हो । फन्डबाट प्राप्त रकम रिसोर्टको निर्माण प्रक्रियालाई अन्तिम रूप दिन र अन्तर्राष्ट्रिय मापदण्ड र प्रोटोकलहरू अनुरूप अन्तर्राष्ट्रिय फ्रेन्चाइज रिसोर्टमा ल्याउन प्रयोग गरिने बताइएको छ ।
यो लगानीबाट एनआईआईएफले प्रिमियर लक्जरी पर्यावरण मैत्री रिट्रिट गन्तव्य स्थापना गरी नेपालको पर्यटन क्षेत्रमा योगदान दिन खोजेको छ। ग्लोबल इक्विटी फन्डका प्रबन्ध निर्देशक डा मनीष थापाले यस साझेदारी नेपालमा दिगो पर्यटन विकासलाई प्रवर्द्धन गर्ने प्रतिबद्धताको एउटा उदाहरण भएको बताए । ’रिसोर्ट घरेलु र अन्तर्राष्ट्रिय पाहुनाहरूका लागि प्रमुख गन्तव्य बन्ने विश्वास छ।’ ’हाम्रो यो लगानीले आकर्षक प्रतिफल दिने मात्र नभई स्थानीय अर्थतन्त्र र समुदायमा दिगो सकारात्मक प्रभाव पार्ने गरी पर्यटन क्षेत्रको विकासमा पनि महत्वपूर्ण योगदान पुर्याउनेमा विश्वस्त छौँ, उनले भने ।