काठमाडौं । निजी क्षेत्रले नेपालमा हुने अनधिकृत व्यापार रोक्नको लागि बहुदर भ्याट प्रणालीमा जान अर्थमन्त्रीलाई सुझाव दिएको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल नेतृत्वको टोलीले मंगलबार अर्थमन्त्री वर्षमान पुनलाई भेटी बहुदर भ्याट प्रणालीमा जान आग्रह हो ।
परिसंघको अध्यक्ष अग्रवालले भारतले अवलम्बन गरेको जीएसटी र नेपालले अवलम्बन गरेको एक दरको मूल्य अभिवृद्धि कर (भ्याट) का कारण अनधिकृत व्यापार बढाउन सहयोग गरेको बताए । सो व्यापार रोक्नका लागि बहुदर भ्याट प्रणालीमा जानको विकल्प नरहेको उनको भनाइ थियो ।
यस्तै, उनले मुलुकको अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने कदमका विषयमा समेत अर्थमन्त्रीलाई सुझाव दिएका थिए । अध्यक्ष अग्रवालले निजी क्षेत्रको मनोबल किन खस्कियो भन्ने विषयमा स्पष्ट भएर त्यहीबाट अर्थतन्त्र सुधारका लागि अगाडि बढ्नुपर्ने बताए । यसैगरी अध्यक्ष अग्रवालले साफ्टाका कारण कतिपय वस्तुहरूको भन्दा कच्चा पदार्थको मूल्य बढी भएकाले स्वदेशी उद्योगहरू प्रभावित भइरहेकोतर्फ ध्यानाकर्षण गराएका थिए । कर्पोरेट विषयमा उद्योगी व्यवसायीलाई पहिले थुन्ने अनि सुन्ने गरिएकाले व्यावसायिक वातावरण बनाउन उद्योग व्यवसायसँग सम्बन्धित कानुनहरूलाई ‘डिक्रिमिनलाइज्ड’ गरिनुपर्ने आवश्यकता रहेको उनले बताए ।
परिसंघको प्रतिनिधिसँगको भेटमा मन्त्री पुनले सरकारले उद्यमी व्यवसायीलाई तर्साउने नभई प्रोत्साहन गर्ने बताए । प्रधानमन्त्रीले गृहमन्त्रीलाई समेत पहिले निजी क्षेत्रलाई सुन्ने त्यसपछि मात्रै थुन्नुपर्ने अवस्थामा थुन्ने निर्देशन दिएको अर्थमन्त्रीले जानकारी दिए । निजी क्षेत्रलाई अगाडि बढाएरै सरकार अगाडि बढ्ने उनले प्रतिबद्धता जनाए । अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग नीतिगत विषयमा छलफल गर्ने, निजी क्षेत्रका सुझाव लागू गर्ने विषयमा आफू प्रतिबद्ध रहेको उनले बताए । ‘निजी क्षेत्र बन्यो भने रोजगारी सिर्जना हुन्छ । अर्थतन्त्र बलियो हुन्छ । यो सरकारले निजी क्षेत्रलाई तर्साउँदैन’, उनले भने ।
यसैगरी अर्थमन्त्री पुनले निर्माण व्यवसायीहरूको दिनुपर्ने भुक्तानी दिन लागिएको जानकारी दिए । अर्थतन्त्र केही दबाबमा रहेकोले निर्माण व्यवसायीहरूको दिनुपर्ने भुक्तानी दिई बजारलाई चलायमान बनाउन ३०÷४० अर्ब बजारमा पैसा पठाउन लागेको उनको भनाइ थियो । यस्तै, बहुदर भ्याट प्रणालीमा जानुपर्ने परिसंघको सुझावलाई सकारात्मकरूपमा लिएको उनले बताए । उनले करको दरका विषयमा नभई कर नीतिका विषयमा खुलारूपमा छलफल गर्नेमा जोड दिएका थिए । सो अवसरमा परिसंघका निर्वतमान अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरू निर्वाण चौधरी, वीरेन्द्रराज पाण्डे, रोहित गुप्ता, अमित मोर, पदाधिकारिमा स्थायी आमन्त्रित सदस्य गोकुल भण्डारी, गर्भनिङ्ग काउन्सिल सदस्य योगेश्वरलाल श्रेष्ठ, शिवरतन शारडा, महानिर्देशक दीपकराज जोशीलगायत सहभागी थिए ।