काठमाडौँ । प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनुअघि सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालबाट बङ्गलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने बताएका छन् ।
उनले भारतसँग मात्रै नभएर बङ्गलादेशसँग पनि विद्युत् व्यापारको नजिक पुगेको बताए । “चीनतिर पनि विद्युत् व्यापारको ढोका खुल्दै छ,” प्रधानमन्त्री दाहालले भने ।
संयुक्तराष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र युएईको दुबईमा सम्पन्न ‘कोप–२८’ मा नेपालको प्रस्तुतिबाट नेपालले नयाँ सन्देश प्रवाह गरेको स्मरण गर्दैे प्रधानमन्त्री दाहालले जलवायु न्याय र समानताको अवधारणामा नेपालले अब आफूलाई विश्वमञ्चको केन्द्रमा ल्याएको उल्लेख गरे ।