काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक व्यक्ति नै भ्रष्टाचार र अनियमिततामा मुछिने विकृति बढेको उल्लेख गर्दै यसले जनतामा निराशा बढेको बताएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय छलफलमा भाग लिदै उनले भने, “जसरी पनि चुनाव जित्नुपर्ने र सरकारमा सामेल भएर खर्च उठाउने प्रवृत्ति बढ्यो । यो संसदीय व्यवस्थाको नकारात्मक प्रवृति हो । यसबाट अधिकांश नेता कार्यकर्ताहरु सिकार भएका छन् ।”
अध्यक्ष केसीले अनुसन्धानमा जोडिएका व्यक्ति सरकारमा पुगेकोमा असन्तुष्टि व्यक्त गरे । राससका अनुसार उनले सुनतस्करी र अनुचित लेनदेनमा मुछिएका प्रभावशाली व्यक्तिलाई सरकारले कारवाही नगरेकोमा गुनासो गरेका छन् । उनले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन नसक्ने पनि स्पष्ट पारे ।
बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले शैक्षिक परामर्शका नाममा ठगी गर्ने, मानव बेचविखन तथा मानवाधिकार हनन गर्ने, सार्वजनिक जग्गा हड्प्ने, सुन तस्करी संलग्न जोसुकै भएपनि कारवाही गर्न माग गरे । उनले चुरे दोहन रोक्नुपर्ने बताउँदै खेतीपातीका लागि आवश्यक जग्गा राखेर मात्र सहरको विकास गर्नुपर्नेमा जोड दिए । साथै सङ्घीय राजधानी दाङमा सार्नुपर्ने सुझाव दिए । उनले पनि प्रधानमन्त्री दाहाललाई मत दिन नसकिने जानकारी गराए ।