काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै जनमत पार्टीका अध्यक्ष एवं सांसद डा. सिके राउतले जनआकाङ्क्षा अनुरुप मुलुकमा आर्थिक सुशासनसहितको विकास र समृद्धिलाई साकार पार्न सरकार र राजनीतिक दल गम्भीर हुनुपर्ने बताएका छन् ।
उनले गठबन्धन सरकारको फेरबदलले जनताका समस्या सम्बोधन गर्न नसक्ने दाबी गर्दै देश र जनताको हितमा प्रभावकारी काम गर्न सहमति र सहकार्यका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।
जनताले राजनीतिक दल र नेताहरुलाई दिएको विश्वासको मत बचाउन कठिन भइरहेको अवस्थामा राजनीतिक प्रणालीमाथिको जनविश्वास अभिवृद्धि गर्न सबै जिम्मेवार भएर लाग्नुपर्ने खाँचो औंल्याउदै अध्यक्ष राउतले पटक(पटक गठबन्धन बन्ने र भत्कने अवस्थाले जनतालाई फाइदा नपुग्ने बताए ।
अध्यक्ष राउतले भने, “हामी राजनीतिक कारणले वर्तमान गठबन्धन सरकारलाई समर्थन गर्न सक्दैनौँ तर सफलताको शुभकामना भने दिन्छौँ ।”