काठमाडौं, जेठ २२
सेयर कारोबार जेठ ३२ गतेसम्म नै बन्द हुुने भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सरकारले कोरोना भाइरस (कोभिड १९)को नियन्त्रण तथा रोकथाम गर्नको लागि पछिल्लो पटक यही जेठ २१ गतेदेखि जेठ ३२ गतेसम्म कायम रहने गरी लकडाउनको अवधि थप गरेपछि सोही मितिसम्म सेयर कारोबार पनि बन्द गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।
देशमा नोभेल कोरोना भाइरस (कोभिड १९) प्रकोपलाई नियन्त्रण तथा रोकथाम गर्न नेपाल सरकार तथा मन्त्रिपरिषद्ले साबिकमा भएको लकडाउनलाई यही जेठ २१ गतेदेखि जेठ ३२ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । सोही आधारमा नेप्से सञ्चालक समितिबाट धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ को उपनियम १ अनुसार (काबुुबाहिरको परिस्थतिमा) उक्त लकडाउनको अवधिभर धितोपत्रको कारोबार स्थनगन गर्ने निर्णय भएको हुुँदा सोहीबमोजिम गर्न निर्देशन दिएका छौँ, नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले भनेका छन् ।
देशमा कोरोना भाइरसको महामारी बढ्दै गएपश्चात् सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । सोही आधारमा नेप्सेले चैत १० गतेदेखि नै सेयर कारोबार बन्द गरेको थियो । पछिल्लो पटक यही वैशाख ३० गते मंगलबारदेखि नेप्सेले दैनिक दुई घण्टा अर्थात् ११ बजेदेखि एक बजेसम्म सेयर कारोबार खुल्ला गर्ने प्रयास गरेको थियो । तर, कारोबार खुुलेकै दिन नेप्सेमा लगातार निगेटिभ सर्किट ब्रेक लागेको थियो । पहिलो दिन १० करोडको सेयर किनबेच हुुँदा नेप्से २५ अंकले घटेको थियो भने दोस्रो दिन पनि नेप्से खुलेको पहिलो ३९ मिनेट अर्थात् ११ बजेर ३९ मिनेटमा नै नेप्से २४ अंक अर्थात् दुुई प्रतिशतभन्दा तल झरेको थियो ।
सोपश्चात् उक्त दिन अर्थात् बुुधबार ११ बजेर ३९ मिनेटमा नै उक्त दिनको पूरै कारोबार स्थगन गरिएको थियो । सो लगत्तै नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्जका प्रतिनिधि, लगानीकर्ताहरू, मर्चेन्ट बैंकर, सेयर ब्रोकर आदि समेतको सल्लाहमा लकडाउनको अवधिभर अर्थात् जेठ पाँच गतेसम्म नै सेयर कारोबार बन्द गर्ने निर्णय नेप्सेले गरेको थियो । तर, सोपश्चात् पनि सरकारले लकडाउनको अवधि बढाएर जेठ २० गतेसम्म पु-याएपछि सोहीअनुरूप सेयर कारोबार पनि जेठ २० गतेसम्मको लागि बन्द गर्ने निर्णय गरिएकोमा पछिल्लो पटक लकडाउनको अवधि जेठ २१ गतेबाट बढाएर जेठ ३२ गतेसम्म कायम गरिएपछि सोहीअनुरूप सेयर कारोबार पनि बन्द गर्ने निर्णय गरिएको हो, नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले भने ।