काठमाडौं । काठमाडौंमा भेला भएका सहकारी पीडितले आज प्रदर्शन गर्ने भएका छन् । देशका विभिन्न स्थानबाट राजधानीमा भेला भएका पीडितहरुले विभिन्न पाँच केन्द्रविन्दुबाट प्रदर्शन गर्दै भृकुटीमण्डपमा जम्मा भएर कोणसभा गर्ने कार्यक्रम तय गरेका छन् । प्रदर्शन गर्नका लागि कालिमाटी, गोंगबु नयाँबसपार्क नजिकको बिजी मल, शंखपार्क, सिफल चौर र जावलाखेल केन्द्रविन्दु तोकिएको छ । ती पाँच स्थानबाट बिहान ११ बजे पैदलमार्च सुरु गर्दै पीडितहरु सुन्धारामा भेला हुने छन् । सबै टोली सुन्धारामा भेला भएर भृकुटीमण्डप पुग्ने र कोणसभा गर्ने कार्यक्रम तय भएको छ । पिडितहरुले जफत गरिएको जिन्सी सम्पती फिर्ता गरिनुपर्ने, मिटरब्याजमा उठाएको रकम फिर्ता गरिनुपर्ने, सहकारी, बैंक, लघुवित, बिमा तथा मिटरब्याजी पिडितहरुलाई क्षतिपूर्ति तथा राहतको उचित व्यवस्था गरिनुपर्ने, सहकारीका निक्षेप कर्ताहरुको निक्षेपको जिम्मा सरकार लिनुपर्ने, लघुवित्तबाट लिएको रु।२० लाख मुनिको ऋण मिनाहा गर्नुपर्ने माग राखेका छन् । त्यस्तै बैंक ब्याज घटाई ६र७ प्रतिशतमा ल्याउनुपर्ने, बैंक तथा सहकारीबाट लिलामी गरिएको धितो फिर्ता गरी पुनः १५ वर्षको अवधि थप गरी तिर्न पाउने व्यवस्था मिलाउनुपर्ने, बैंक तथा सहकारीबाट धितो लिलाम भई सुकुम्बासी भएकाहरुको धितो फिर्ता गरेर पुनस् २० वर्षको म्याद थप गर्नुपर्ने र पिडकहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने भनि ९ बुँदै माग सार्वजनिक गरेका छन् ।