भोजपुर । धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको को १ ज २५९३ नम्बरको जिप उदयपुरको मैनमैनीमा दुर्घटना भएको छ । जीप दुर्घटनामा छ जनाको मृत्यु र अन्य आठजना घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरले जिपमा १४ जना सवार रहेको सूचना प्राप्त भएको जनाएको छ । जिप चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत भइसकेको छैन । प्रहरी घटनास्थलमा पठाइएकाले विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ ।
घटनास्थलमा उद्धारकार्य जारी रहेको र घाइतेलाई थप उपचारका लागि धरान लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुदीपराज पाठकले बताए । स्थानीयका अनुसार जिप सडकबाट करिब आठ सय मिटर तल खसेको थियो ।