काठमाडौँ । मृत्युपछि अङ्गदान गर्न उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सबैलाई सुझाव दिएका छन् । वीर अस्प्ताल, त्रिवि शिक्षण अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलगायतले विश्व मिर्गौला दिवसका अवसरमा बिहीबार गरेको प्रभातफेरि कार्यक्रममा उनले मरेर जाने शरीरका अङ्ग अरुलाई काम लाग्यो भने यसले जीवन बचाउन सक्ने बताए ।
यसअघि नै आफूले पनि अङ्गदान गरिसकेको उल्लेख गर्दै उपप्रधानमन्त्री यादवले अङ्गदानले जीवनलाई सार्थक बनाउने र यस्तो पुण्य काममा लाग्न सबैलाई आग्रह गरे । मिर्गौला दानबारे जनचेतना जगाउनुपर्ने कुरामा समेत उपप्रधानमन्त्री यादवले जोड दिए ।
प्रभातफेरिमा अङ्गदाता, अङ्ग प्रत्यारोपित, चिकित्सकलगायतको सहभागिता रहेको थियो । रत्नपार्कको शान्ति बाटिकाबाट सुरु भएको प्रभातफेरि भृकुटीमण्डप, सहिदगेट हुँदै त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा पुगेर समापन गरिएको थियो ।
यसैबीच दिवसकै अवसरमा अङ्ग प्रत्यारोपितको समूह र चिकित्सक, स्वास्थ्यकर्मीको समूहबीच बिहीबार दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको छ । सो खेलमा अङ्ग प्रत्यारोपितको समूह ४–१ गोलअन्तरले विजयी भयो ।
नेपालमा विहीबार ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने मूल नाराका साथ विश्व मिर्गौला दिवस मनाइँदैछ । मिर्गौला मधुमेह, मोटोपन, खानपानमा असन्तुलन, उच्च रक्तचाप, मुटुरोगका कारणले खराब हुने गर्दछ । विश्वमा कुल जनसङ्ख्याको १० प्रतिशत नागरिक मिर्गौला रोगबाट पीडित रहेको तथ्याङ्क छ ।