सोलुखुम्वु,जेठ २३
रामेछाप–लुक्ला कार्गो ढुवानी गरिरहेको विमानसँगै मानिसले समेत यात्रा गर्ने गरेको पाइएको छ । सोमबार लुक्लाबाट रामेछाप एक जना र रामेछापबाट लुक्लासम्म एक जनाले यात्रा गरेको मन्थली विमानस्थल कार्यालय रामेछापले स्वीकार गरेको छ ।
लकडाउनको समयमा यसरी भएको यात्राको विषमा प्रशासन भने बेखबर देखिएको छ । लकडाउनका कारण खाद्यान्नसँंगै निर्माण सामग्रीको अभाव हुने भएकाले खुम्बुका लागि हेलिकोप्टर तथा हवाइजहाजमार्फत केही हप्ता पहिलेदेखि कार्गो ढुवानी भइरहेको छ । विमानले रामेछाप तथा हेलिकोप्टरले सोलुखुम्बुकको सोलुदूधकुण्डको नगरपालिका वडा नम्बर एक टाक्सिन्दुबाट खुम्बुका लागि कार्गो ढुवानी गरिरहेको छ ।
कार्गोसँंगै लुक्ला आउने यात्रु सिभिल इन्जिनियर भए पनि रामेछाप जाने व्यक्तिको बारेमा भने कसैलाई पनि जानकारी छैन । उनका विषयमा नागरिक उड्यान प्राधिकरणले लुक्लाले जानकारी दिन समेत आनाकानी गरेको छ । लुक्ला विमानस्थल नजिकै निर्माणाधीन हेलिप्याडका लागि सिभिल इन्जिनियर आएको भए पनि सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारीलाई यस विषयमा कुनै पनि जानकारी छैन ।
खुम्बुमा व्यक्ति आएको भन्ने विषयमा आपूmलाई कुनै पनि जानकारी नभएको प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिइन् । लकडाउनको यो समयमा जिल्ला भित्रिने हरेक नागरिको बारेमा जानकारी राख्ने निकायको प्रमुखलाई नै जानकारी नहुनु निकै दुःखद् हो । यस्तै रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्र शर्माले भने पर्यटन मन्त्रालय हुँदै गृहबाट अनुमति लिएर कार्गोसँगै यात्रु लगिएको मौखिक जानकारी भए पनि कुनै आधिकारिक जानकारी भने नभएको बताए ।
कार्गो ढुवानीको अनुमति पाएको विमानले यात्रुको समेत पुनः अनुमति नलिएसम्म उडान भर्न पाइँदैन । यता लुक्ला विमानस्थलका प्रमुख इमानाथ अधिकारीले भने एक जना यात्रु आएको भए पनि अनुमतिको विषयमा जानकारी नभएको भन्दै गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखिसकिएकाले यस विषयलाई खासै ठूलो नबनाउन आग्रह गरे ।
लकडाउनको सयममा सामान्य नागरिकलाई भने पास लिनुपर्ने अनि प्रशासनलाई जानकारी गराउनु पर्ने तर पहुँच भएको व्यक्तिको हकमा भने यो कुरा लागू नभएको हो कि भन्ने भान भएको छ । यता गाउँपालिका स्वास्थ्य संयोजक अर्थीमाया तामाङका अनुसार खुम्बु आएका व्यक्तिलाई गाउँपालिकाले तय गरेको लुक्लास्थित लादिला होटलको क्वारेन्टाइनमा राखिएको छ । बिनाजानकारी आएका ती व्यक्तिलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेपछि आरडीटी गरिने तामाङको भनाइ छ ।