कर्णाली । नेकपा सुर्खेतद्वारा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रबार आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले स्थिर राजनीतिक प्रणालीको विकास गर्न सकिए मात्र देश उभो लाग्ने बताएका छन् ।
महासचिव चन्दले अस्थिर राजनीतिक प्रणालीले मुलुक सही ढङ्गले अघि नबढ्ने बताए । “पूँजीलाई जनतातर्फ फर्काउने अर्थतन्त्रको विकास नहुन्जेलसम्म मुलुकमा परिवर्तन हुँदैन्”, उनले भने । नेपाली विशिष्टताको मौलिक समाजवाद आजको आवश्यकता भएको चन्दले उल्लेख गरे । उनले पछिल्लो समय नेकपाले उपभोग, उत्पादन र आत्मनिर्भर समाज निर्माण गर्नतर्फ जोड दिइरहेको बताए ।
समृद्ध र आत्मनिर्भर मुलुकका लागि कृषि उत्पादन र उद्योगको विकासमा जोड दिनुपर्ने चन्दले बताए । समाजवादी मोर्चाको गति अपेक्षित रुपले नबढे पनि अब रफ्तारमा जाने र सुरुमा माओवादीबीचको एकता गरी पछि कम्युनिष्ट घटकबीचको एकतामा जोड दिइने उनको भनाइ थियो ।