सुरेश राउत
काठमाडौं, जेठ २५
बीमा कम्पनीहरुले कोरोना बीमाको पोलिसी बिक्री कार्य पुुनः सुरु गरेका छन् । पछिल्लो समय विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुुनेहरुको संख्या बढेसँगै बीमा कम्पनीहरुले यही जेठ २३ गते शुुक्रबारबाट कोरोना बीमाको पोलिसी बिक्री नगर्ने घोषणा गरेका थिए । सरकारले आगामी आर्थिक वर्षको २०७७/०७८ को बजेटमा कोभिड १९ को बीमासम्बन्धी प्रावधान समेटे पनि त्यसमा स्पष्ट प्रावधान उल्लेख नगरिएको भन्दै निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले पोलिसी बिक्री नगर्ने घोषणा गरेको थियो ।
तर नियमनकारी निकाय बीमा समिति समेतको स्वीकृतिका आधारमा पोलिसी बिक्री नगर्ने घोषणा गरेका कम्पनीहरुले पुुनः जेठ २३ गते शुुक्रबार नै पोलिसीको बिक्री कार्य सुरु गरेका हुन् ।
‘संक्रमितको संख्या बढ्दै गएको अवस्थामा बीमा कम्पनीहरुको भुक्तानी दायित्व बढ्नसक्ने र त्यो दायित्व बीमा कम्पनीहरुले थेग्न नसक्ने अवस्था आउन सक्ने भन्दै जेठ २३ देखि कोेभिड १९ को बीमा प्रक्रिया बन्द गर्ने निर्णय गरेका थियौँ । तर जोखिम वहनमा सरकारले सहयोग गर्ने भन्ने जानकारी पाएपछि बीमा समितिको निर्देशनका आधारमा पुुनः पोलिसी बिक्री कार्य सुुरु गरेका हौँ’, निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघका महासचिव समेत रहेका सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले आर्थिक दैनिकसँग भने ।
हाल नेपालमा ४० वटा बीमा कम्पनीहरुले बीमासम्बन्धी कारोबार सञ्चालन गर्दै आएका छन् । सोमध्ये १९ वटाले जीवन बीमा कारोबार सञ्चालन गर्दै आएका छन् भने २० वटाले निर्जीवन बीमासम्बन्धी कारोबार गरिरहेका छन् ।
सरकारले कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण तथा रोकथामको लागि ०७६ चैत ११ गते नै लकडाउनको घोषणा गरेकोमा अहिले यो अवधि थप गरेर जेठ ३२ गतेसम्म कायम गरेको छ । यहीबीचमा सरकारले आगामी आर्थिक वर्षको बजेटमा कोरोना बीमामा ५० प्रतिशत अनुुदान दिने घोषणा गरेको छ । सोही आधारमा पनि पछिल्लो समय कोरोना बीमा गर्नेहरुको संख्या बढ्दै गएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण बढेसंँगै हालसम्म तीन लाख जनाले कोरोनासम्बन्धी पोलिसी खरिद गरिसकेका छन् ।
‘यसअन्तर्गत कम्पनीहरुले प्रतिग्राहक ५० हजार र एक लाख रुपैयाँसम्मको पोलिसी बिक्री गरेकोेमा यसबाट झण्डै १६ करोड रुपैयाँको हाराहारीमा प्रिमियम संकलन भइसकेको छ’, महासचिव क्षेत्रीले भने, ‘कोरोना संक्रमितको संख्या बढ्दै जाँदा भुक्तानी दायित्व उच्च हुने जोखिम पनि बढ्न सक्छ, यो अवस्थामा कोभिड १९ को बीमामा सरकारले पभन जोखिम बहन गर्ने भनेपछि हामीले यसअघि रोकिएको पोलिसी बिक्री कार्य पुुन सुरु गरेका हौँ ।’