काठमाडौँ । परापूर्वकालदेखि मानन्धर समुदायले चीर ठडाएर फागुपूर्णिमाको पूजा गरी होलीको सुरुआत गर्ने परम्परा अनुसार आइतबार बिहान वसन्तपुरमा होलीको ‘चीर’ ठड्याएर फागुपूर्णिमा (होली) को विधिवत् रुपमा प्रारम्भ गरिएको छ ।
आइतबार बिहानै स्थानीय तीर्थलाल तन्डुकारले चीरको पूजा गरी होलीको प्रारम्भ भएको बताए । काठमाडौँवासीहरु यसै दिनदेखि चीरको पूजा गरी आशीर्वाद लिने चलन छ ।
तन्डुकारका अनुसार चीरको टुप्पोमा झुन्ड्याइएको रङ्गीविरङ्गी ध्वजालाई मानिसहरुले फागुपूर्णिमा समापन भएपछि घरमा लगेर राख्ने गर्छन् । चीरमा झुन्ड्याइएको ध्वजा घरमा राख्दा शुभ हुन्छ भन्ने धार्मिक विश्वास रहेको उनले बताए । होलीको भोलिपल्ट टुँडिखेलमा लगेर चिर विर्सजन गरिन्छ ।