मुग्लिन (चितवन)। नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार एक दिनका लागि बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले यही चैत ७ गते एक दिनका लागि सेवा बन्द गर्न लागिएको जनाएको छ ।
प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले नियमित मर्मतसम्भारका लागि एक दिन बन्द हुने सेवा चैत ८ गते बिहीबारदेखि नियमित सञ्चालनमा आउने जानकारी दिए ।
मनकामना केबलकार नेपालको पहिलो केबलकार हो । गोरखाको सहिद लखन गाउँपालिका–३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाइको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटारबाट १० मिनेटमा पुग्नेगरी २०५५ सालमामा उक्त केबलकार सेवा स्थापना भएको थियो ।