काठमाडौँ । सुन तस्करी प्रकरणमा नाम जोडिएका कारण नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।
महरालाई सोमबार बिहान कपिलवस्तुबाट नियन्त्रणमा लिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । महरालाई अहिले कपिलवस्तुबाट काठमाडौँ ल्याइएको प्रवक्ता ढकालले जानकारी दिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले यसअघि सोही प्रकरणमा महरालाई बयान लिइ कागज गरी छाडेको थियो ।
सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष महराको नाम जोडिएको थियो । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका र जाँचबुझ आयोगले कारबाहीको सिफारिस गरेका सबैमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरी नेतृत्वलाई निर्देशन दिएका थिए ।