सुबास बस्नेत
दोलखा, जेठ २५
दोलखाको मेलुङ गाउँपालिकामा रहेको गाउँघर साना किसान सहकारी संस्थाले लकडाउनले प्रभावित बनेका तथा आर्थिक संकटमा परेका किसानलाई विभिन्न किसिमका कृषि सामग्री वितरण गरेको छ । गाउँघर साना किसान सहकारीले आफ्नो स्थापना दिवसको अवसरमा आफनो कार्यक्षेत्रभित्र रहेका १ सय जना किसानलाई टनेल वितरण गरेको हो ।
दोलखाको मेलुङ गाउँपालिकामा वडा नम्बर ६ मा मुख्य कार्यालय रहेको सहकारीले आफ्ना सेयर सदस्यलाई बिहीबार विभिन्न किसिमका ६ लाख बराबरको कृषि सामग्री वितरण हो । किसानलाई कृषि सामग्री वितरण गर्दै गाउँपालिकाका प्रमुख नर बहादुर श्रेष्ठले पालिकाले जनतालाई कृषिमा निर्भर बनाउन विभिन्न कार्यक्रम ल्याएको बताए ।
किसानलाई काम गर्न आग्रह गर्दै किसानलाई पालिकाले सहयोग गर्ने अध्यक्ष श्रेष्ठले बताए । विदेशमा सिकेको सीप स्वदेशमा प्रयोग गर्न पालिकाका प्रमुख श्रेष्ठले आग्रह गरे । सहकारीले किसानकोे माग अनुसार कृषि सामान वितरण गरेको सहकारीका अध्यक्ष श्रीराज पोखरेलले जानकारी दिए ।
सहकारी स्थापना भएदेखि छ करोडभन्दा माथिको कारोबार गरेको अध्यक्ष पोखरेलले बताए । सहकारीले किसानको व्यवसायअनुसारको ४ प्रतिशतदेखि १५ प्रतिशतसम्मको ब्याजदरमा विभिन्न कर्जा उपलब्ध गराउँदै आएको छ । संस्थाले १९ जना युवाहरुलाई इजरायलमा कृषि तालिममा पठाएको उनले जानकारी दिए ।
संस्थाले तीन सय जनाभन्दा बढी सदस्यहरुलाई सिलाइ कटाइ, कम्प्युटर तालिम, सिकर्मी, तालिम, डकर्मी तालिम र कृषि तालिम उपलब्ध गराएको संस्थाका भुपा चापागाईंले जानकारी दिए । लकडाउनको समयमा समेत संस्था सञ्चालन गर्दै दुग्ध डेरी समेत सञ्चालन गरिराखेको चापागाईंले बताए । अमेरिकी फौजी किरा नियन्त्रण गर्न सहकारीले प्राविधिक राखेर फौजी रोकथाम गराइरहेको सहकारीले जनाएको छ ।