काठमाडौँ । उपसभामुख इन्दिरा रानामगरले मनभित्र नराम्रो कुरा पालेर समाजसेवा गर्न नसकिने बताएकी छिन् ।
विश्व सामाजिक सेवा दिवसका अवसरमा जिपी कोइराला मेरोरियल क्याम्पसको स्नातक तह समाज कार्य विभागद्वारा मंगलबार यहाँ आयोजित कार्यक्रममा उनले मनभित्र नराम्रो कुरा पालेर समाजसेवा गर्न नसकिने बताएकी हुन् । “मैले सामाजिक सेवामा लागेको ३४ वर्ष भयो, आफैं बाँच्न गाह्रो हुने समयमा ट्युसन पढाएर बन्दीको सेवा गरेर सामाजिक सेवामा लागेको हुँ, सामाजिक सेवा भनेको राजनीति पनि हो, कर्तव्य पनि हो”, उनले भनिन । नाम कमाउनका लागि मात्रै सामाजिक सेवामा लाग्दा बीचमै हराइने उनको भनाइ छ ।
उपसभामुख रानामगरले हरेक धर्ममा सामाजिक सेवाभाव र अनुशासनको मार्गनिर्देशन हुने गरेकाले त्यो कडा अनुशासनलाई पालना गरेर सामाजिक भावमा लाग्नुपर्ने उल्लेख गरिन् । “कृष्णप्रसाद भट्टराई, सिके प्रसाइँ, निर्मल लामाले आफ्ना लागि कहिल्यै सोच्नु भएन, हामीहरु पनि निःस्वार्थ रुपमा सामाजिक कार्यमा लाग्न सक्नुपर्छ”, उनले रासससँग भनिन ।
बागमती प्रदेशसभा सदस्य मीना पोखरेल पराजुलीले दक्ष जनशक्ति, समाजसेवी व्यक्तित्वको सामाजिक परिचयलाई उजागर गर्दै नेपालमै रहने वातावरण तयार गर्न सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने बताइन् ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले देशको विकासका लागि आपसी मनमुटावलाई थाती राख्दै सबै दल मिलेर सहमति, सहकार्य र एकताको भावनाबाट क्रियाशील भएर लाग्नुपर्ने बताए ।
जिपी कोइराला मेरोरियल क्याम्पसका प्रमुख शिवप्रसाद अधिकारीले नेपालको राजनीतिमा अग्रगामी भूमिका निर्वाह गर्ने शान्ति प्रक्रियाका नायक गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित क्याम्पसले छोटो समयमा दक्ष जनशक्ति निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
विश्व सामाजिक सेवा दिवसको अवसरमा उक्त क्याम्पसले राससका बोर्ड सदस्य एवं समय सन्दर्भ पाक्षिकका सम्पादक डिल्लीराम भट्टराईसहितका पत्रकारलाई सम्मान गरेको छ ।
सम्मानित हुनेमा नागरिक दैनिकका रुवी रौनियार, नयाँ पत्रिका दैनिकका शिवहरि घिमिरे, रासस ललितपुरका समाचारदाता माधवप्रसाद घिमिरे, दैनिकी न्यूजका सम्पादक रामहरि कार्की, रातोपाटी अनलाइनका कृष्णसिंह धामी, दक्ष खबरका सुजन तिमल्सिनालगायत पत्रकारलाई सम्मान गरिएको हो । पत्रकारिताका माध्यमबाट सामाजिक सेवामा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरिएको क्याम्पस प्रमुख अधिकारीले बताए ।