काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशव्यापीरूपमा वित्तीय साक्षरता कार्यक्रम सुरु गरेको छ । ग्लोबल मनी विक २०२४ लाई सफल बनाउने उद्देश्यले बैंकले देशैभरका सातै प्रादेशिक कार्यालय र सबै शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सुरु गरेको हो ।
बैंकका अनुसार यही चैत्र ६ गते मंगलबारदेखि ११ गतेसम्म ग्लोबल मनी विक २०२४, प्रोटेक्ट योर मनी, सेक्योर योर मनी भन्ने मूल नाराका साथ सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिँदैछ । ग्लोबल मनी विक वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यले वार्षिकरूपमा मनाउँदै आएको साप्ताहिक अन्तर्राष्ट्रिय अभियान हो । नेपाल राष्ट्र बैंकले जारी गरेको वित्तीय साक्षरता मार्गदर्शन, २०७८ बमोजिम बैंकको देशैभरका शाखा कार्यालयहरूले विद्यार्थी, युवा, मजदुर, कृषक, साना उद्यमी, महिला विप्रेषण प्रापक ग्राहकहरूलाई लक्षित गरी एक सप्ताहसम्म ज्ञान, सिप तथा बैंकिङ आदत सिकाउने उद्देश्यले वित्तीय सचेतना कार्यक्रम सञ्चालन गरिने छ ।
बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा दुई सय ८७ वटा शाखा कार्यालय, तीन सय पाँच वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ, ७१ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।