टोकियो । जापानको केन्द्रीय बैंक ‘बैंक अफ जापान’ले ऋणात्मक ब्याजदर नीति अन्त्य भएको घोषणा गरेको छ । बैंकले मंगलबार नीतिगत निर्णय गर्दै ब्याजदर वृद्धिमा आफ्नो नकारात्मक ब्याजदर नीति अन्त्य गरेको हो । केन्द्रीय बैंकले १७ वर्षमा पहिलोपटक यस्तो निर्णय गरेको हो । जापान विश्वमै एक मात्र ऋणात्मक ब्याजदर भएको मुलुक थियो । मंगलबार लिएको निर्णयलाई जापानी अर्थशास्त्रीहरुले एतिहासिक निर्णय भएको बताएका छन् ।
केन्द्रीय बैंकको नीति बोर्डले आफ्नो दुईदिने बैठकबाट अब ऋणात्मक ब्याजदरको अन्त्य गर्ने निर्णय गरेको हो । बैठकले अल्पकालीन दरलाई एक तह माथि लग्दै माइनस शून्य दशमलव एकदेखि शून्य प्रतिशतबाट बढाएर शून्यदेखि शून्य दशमलव एक प्रतिशतको दायरामा लैजाने निर्णय गरेको हो ।
यस निर्णयबाट मुद्रास्फीति दुई प्रतिशतमा स्थिर रहने केन्द्रीय बैंकले बताएको छ । बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मूल्य स्थिरताको लक्ष्य दिगो र स्थिररूपमा दुई प्रतिशत हासिल हुने देखिएको छ । सकारात्मक दरहरूलाई परिपक्व दायरामा ल्याउने क्रममा बैंकले अत्यधिक ब्याजदर नियन्त्रण नीतिलाई खारेज गर्ने निर्णय गरेको छ ।