ढाका । बंगलादेशको चालू खाता सञ्चिति तीन अर्ब अमेरिकी डलर नाघेको छ । बंगलादेश बैंकद्वारा सार्वजनिक तथ्यांकअनुसार सन् २०२३ जुलाइदेखि सन् २०२४ जनवरीसम्म चालू खाता सञ्चिति बढेको देखिएको हो ।
अघिल्लो आर्थिक वर्ष २०२२/२३ को सोही अवधिमा चार अर्ब ६४ करोड ८० लाख डलर घाटामा थियो । तर, अहिले आर्थिक वर्षको पहिलो सात महिनामा तीन अर्ब १४ करोड ८० डलरको जम्मा पुँजी देखाएको छ ।
बंगलादेशले आर्थिक वर्ष २०२२/२३ मा निर्यात र विप्रेषणमा कमजोर वृद्धिको कारण दुई दशमलव ६७ अर्ब डलरको चालू खाता घाटा व्यहोरेको थियो । अधिकारीहरूले केन्द्रीय बैंकको चालू खाताको रकम तथा भुक्तानीको समग्र पुँजीले जुलाई–जनवरी अवधिमा सकारात्मक प्रवृत्ति कायम राखेको बताएका छन् ।
हालका महिनाहरूमा आयात बिलमा गिरावटको बीचमा निर्यात आय र विप्रेषणकोे आगमन बढेको कारण यो सम्भव भएको उनीहरूको भनाइ छ । बंगलादेशले आर्थिक वर्षको पहिलो सात महिनामा १२ दशमलव ८९ अर्ब डलर विपे्रषण प्राप्त गरेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ ।