काठमाडौँ, अर्थमन्त्री वर्षमान पुनले आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुने गरी तयारी भइरहेको तेस्रो लगानी सम्मेलनमा भाग लिन विश्व बैङ्कका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरलाई निमन्त्रणा गरेका छन्।
बिहीबार राति अर्थमन्त्री पुन र विश्व बैङ्कका उपाध्यक्षत्रय मार्टिन रेजर, आकिहिको निसिओ र ग्वान्झे चेनबीच भर्चुअल संवाद भएको थियो । उक्त संवादका क्रममा अर्थमन्त्री पुनले लगानी सम्मेलनमा भाग लिनका लागि निम्ता गर्नुभएको उनको सचिवालयले जनाएको छ ।
उक्त संवादका क्रममा अर्थमन्त्री पुनले उहाँहरुलाई औपचारिक रुपमा यसअघि नै निमन्त्रणा पठाइसकिएको स्मरण गराउँदै लगानी सम्मेलन निर्देशक समिति अध्यक्षका हैसियतले व्यक्तिगत रुपमा पनि निम्तो दिएको बताएका थिए ।
जवाफमा उपाध्यक्ष रेजरले निमन्त्रणाका लागि धन्यवाद दिनुहुँदै नेपाल र विश्व बैङ्कबीचको विकास साझेदारीमा थप सहकार्यका क्षेत्रबारे कुराकानी गर्न इच्छुक रहेको बताएका अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।
लगानी सम्मेलनका लागि आवश्यक कानुनी र प्रक्रियागत सुधारका काम अघि बढेको जानकारी अर्थमन्त्री पुनले गराएका थिए। सम्मेलनलाई नेपालले अवसरका रूपमा लिएको बताउँदै उनले विश्व बैङ्कसहित अन्य विकास साझेदारसँगको सहकार्य आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे । रासस