काठमाडौँ । फागु पर्वका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हिमाल, पहाड र तराईमा हर्षोल्लासका साथ मनाइने होलीपर्वले पारस्परिक एकता र सामाजिक सद्भाव कायम राखेको बताएका छन् ।
सभापति देउवाले अन्यायमाथि न्यायको सन्देश दिने फागुलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको बताएका हुन् ।
“फागुपर्वमा खेलिने विविध रङ्गजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपले विविधतापूर्ण रहेको छ, यही विविधताबीचको एकता नेपालीको विशिष्ट पहिचान बनेको छ, फागुपर्व हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो”, सभापति देउवाद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।
वसन्त ऋतुको आगमनसँगै फागुपर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धिमा प्रेरित गर्ने सभापति देउवाले बताएका छन् ।
साथै उनले हर्षोल्लासका साथ एकअर्कालाई रङ लगाई खुसीयाली साटासाट गर्दै नेपालको हिमाल, पहाड र तराईका जिल्लामा खेलिने फागुपर्वको पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।