काठमाडौं । साविकका सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स गाभिएर २०७९ चैत्र ९ गतेका दिन बनेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको विशेष दिन शुक्रबार कम्पनीले विविध कार्यक्रमको आयोजनाबीच प्रथम वार्षिकोत्सव मनाएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च पदाधिकारीलगायतको सहभागितामा विभिन्न सन्देशमूलक प्लेकार्डसहित प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त कार्यक्रम कम्पनीको कमलादी कार्यालयबाट सुरुवात भई घण्टाघर–भद्रकाली–जमल हुँदै पुनः कमलादीमा पुगेर टुङ्गिएको थियो । साथै, मानव जीवनको रक्षा गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा कम्पनीको प्रधान कार्यालय, बानेश्वरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा ५५ जनाभन्दा बढी सहभागीहरूले रक्तदान गरेका थिए । साथै, काठमाडौं शान्तिनगरस्थित असहाय वृद्धवृद्धाहरूको लागि विशेष आश्रय प्रदान गरिरहेको निःसहाय सेवा सदनमा आहारविहार र देशैभर विभिन्न शाखा कार्यालयमार्फत सामाजिक उत्तरदायित्वअन्तर्गत सोही किसिमका कार्यक्रमहरूको आयोजना गरी मनाएको छ ।
बीमा कम्पनीहरूको पुँजी वृद्धिगरी समग्र बीमा क्षेत्रलाई अझै मजबुत बनाई उत्कृष्ट ग्राहक सेवा प्रवाह गर्नका लागि बीमा नियमनकारी निकायको पहलमा दुई कम्पनी गाभिएर बनेको बीमक सानिमा रिलायन्सको चुक्ता पुँजी चार अर्ब १८ करोड रुपैयाँ रहेको छ भने लगानी १७ अर्ब नजिक र जीवन बीमा कोष १२ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । देशभरि एक सय ७५ वटा शाखा सञ्जालमार्फत आफ्नो सेवा प्रदान गर्दै आएको कम्पनीको व्यवसाय तथा अधिकांश आर्थिक सूचकांकहरू सकारात्मक रहेका छन् ।