ललितपुर । मेड इन नेपाल नारासहित आगामी चैत अन्तिम साता हुने ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पो २०२४ को तयारी पूरा भएको छ । आयोजकले ललितपुरमा पत्रकार सम्मलन गरी तयारी पूरा भएको जानकारी गराएको हो ।
ललितपुरस्थित जावलाखेल फुटबल ग्राउन्डमा चैत २२ गतेदेखि २६ गतेसम्म सो मेला आयोजना हुनेछ । ललितपुर चेम्बर अफ कमर्शको आयोजनामा सञ्चालन हुने इन्टरनेसनल ट्रेड एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका बंगलादेश, थाइल्यान्ड, टर्की, मलेसिया, दक्षिण कोरियालगायतका देशहरूमा उत्पादित विविध वस्तु तथा सामग्री, मौलिक उत्पादन र सेवासम्बन्धी सामनहरू राखिने बताइएको छ ।
ललितपुर महानगरपालिका सहआयोजक, नेपाल चेम्बर अफ कमर्श र जावलाखेल युथ क्लबको सहयोगमा सञ्चालन हुने मेलामा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायतका सामग्री प्रदर्शनीमा राखिने ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले बताए ।