काठमाडौँ । महिला उद्यमी महासङ्घद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको शुक्रबार बिहान ललितपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन् ।
प्रधानमन्त्रीले विगतका तुलनामा नेपाली महिलाको अवस्था क्रमशः सुदृढ हुँदै गएको भन्दै महिला सशक्तीकरणका लागि सबैको हातेमालो आवश्यक भएको बताए । उनले पछिल्लो समय सशक्तीकरणको विषय शक्तिसँग जोडिएकोमा पनि जोड दिए ।
उनले महिला उद्यमशीलताको विकासका माध्यमबाट नेपाली महिलाको सामाजिक तथा आर्थिक सशक्तीकरण गरी राष्ट्र निर्माणमा सहयोग गर्ने परिकल्पनालाई सार्थक तुल्याउन महिला उद्यमी कोष स्थापना गर्ने कुरा महत्वपूर्ण रहेको बताए ।
सो अवसरमा प्रधानमन्त्रीले महिलाहरूद्वारा सञ्चालित उद्योग र व्यवसायमा करछूट र सहुलियतका कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिँदै भविष्यमा त्यसलाई अझ बढाउँदै लगिने प्रतिबद्धता व्यक्त गरे।