काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत १९ गते अर्थात् आज सोमबार पुनः १३ अर्ब पाँच करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही चैत १४ गते पनि राष्ट्र बैंकले २० अर्ब ७१ करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
राष्ट्र बैंकका अनुसार जारी मिति चैत २० गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन पाउनेछन् । बिक्री गरिने उक्त ट्रेजरीहरू क्रमशः ९१ दिन अवधिको सात अर्ब ७५ करोड र एक सय ८२ दिन अवधिको पाँच अर्ब ३० करोड रुपैयाँ बराबरको रहेको छ । जसमध्ये ९१ दिनेको २०८१ असार १९ गते र एक सय ८२ दिन अवधिको २०८१ असोज १५ गते परिपक्व हुने अवधि तोकिएको छ । राष्ट्र बैकका अनुसार आज बिक्री हुने ट्रेजरी बिलहरू सबै पुरानो नवीकरणअन्तर्गतको रहेका छन् ।
यसअघि अर्थात् गत साता पनि राष्ट्र बैंकले २८ दिन अवधिको पाँच अर्ब, ९१ दिन अवधिको १० अर्ब ११ करोड २५ लाख, एक सय ८२ दिन अवधिको ५० करोड र तीन सय ६४ दिन अवधिको पाँच अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।