काठमाडौँ । ढुवानी व्यवसायी महासङ्घ नेपालको मागपत्र बुझ्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ढुवानी व्यवसायीका समस्या समाधानका लागि आफू सकारात्मक रहेको बताएका छन् ।
उनले ढुवानी व्यवसायीले उठाएका समस्या समाधानमा उद्योग मन्त्रालयबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाए । उनले ढुवानी व्यवसायी महासङ्घका प्रतिनिधिलाई देशभरको आपूर्ति व्यवस्था सहज बनाउन पनि आग्रह गरे ।
ढुवानी व्यवसायीले बजारमा एकाधिकार जमाएर अरु व्यवसायीलाई आउन नदिएको गुनासो आएको उल्लेख गर्दै मन्त्री भण्डारीले ढुवानीमा रहेको एकाधिकार हटाएर सहज वातावरण निर्माण गर्न आग्रह गरे ।
महासङ्घका अध्यक्ष माधव नेपालले व्यवसायीहरुले आर्थिक वर्ष २०७६÷७७ मा आफूहरुले मूल्य अभिवृद्धि कर नलिए पनि सरकारले तिर्नुपर्ने देखाएको भन्दै मिनाहाका लागि मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको बताए । ढुवानीमा सरकारले मूल्य अभिवृद्धि कर लगाउने निर्णयले समग्र ढुवानी व्यवसायी प्रत्यक्ष मारमा परेको अवस्था रहेको भन्दै ढुवानी व्यवसायी महासङ्घले त्यसको खारेजीको माग गरेको छ ।