काठमाडौं, जेठ २७
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा एक खर्ब ८६ अर्ब ८३ करोड रुपैयाँ बराबरको तरलता प्रवाह गरेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा रिपोमार्फत एक खर्ब १३ अर्ब ७७ करोड र स्थायी तरलता सुविधामार्फत ७३ अर्ब छ करोड रुपैयाँ समेत गरी उक्त परिमाणमा तरलता प्रवाह गरिएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा रिपोमार्फत ३९ अर्ब ५३ करोड र स्थायी तरलता सुविधामार्फत नौ अर्ब ७२ करोड गरी कुल ४९ अर्ब २५ करोड तरलता प्रवाह भएको थियो । राष्ट्र बैंकका अनुसार चालू आवको नौ महिनामा खुला बजार कारोबारमार्फत कुल ५८ अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा एक खर्ब ३५ करोड तरलता प्रशोचन गरिएको थियो ।
यसैगरी चालू आवको नौ महिनामा राष्ट्र बैंकले विदेशी विनिमय बजार अर्थात वाणिज्य बैंकबाट अमेरिकी डलर दुई अर्ब ६७ करोड खुद खरिद गरी तीन खर्ब पाँच अर्ब ८६ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर दुई अर्ब २१ करोड खुद खरिद गरी दुई खर्ब ५२ अर्ब २२ करोड तरलता प्रवाह गरिएको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो नौ महिनामा तीन अर्ब छ करोड बिक्री गरी तीन खर्ब ५० अर्ब नौ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर तीन अर्ब १६ करोड र अन्य परिवत्र्य विदेशी मुद्रा बिक्री गरी तीन खर्ब ९३ अर्र्ब ७७ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरिएको थियो ।
१४ अर्ब नौ करोड रुपैयाँको ट्रेजरी बिक्री : नेपाल राष्ट्र बैंकले १४ अर्ब नौ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार सोमबार अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गरिएको हो । जारी मिति जेठ २७ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिएका थिए । बिक्री गरिएको कुल ट्रेजरीमध्ये ९१ दिने अवधिको १२ अर्ब २६ करोड र तीन सय ६४ दिने अवधिको एक अर्ब ८३ करोड रुपैयाँको रहेको छ ।
सोमध्ये ९१ दिने अवधिको ट्रेजरीको परिपक्व अवधि २०७७ भदौ २३ गते तोकिएको छ भने तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुने अवधि वि.सं. २०७८ साल जेठ २५ गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यसअघि यही जेठ १९ गते पनि राष्ट्र बैंकले १५ अर्ब १३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । सोमध्ये ९१ दिने अवधिको तीन अर्ब १३ करोड र तीन सय ६४ दिने अवधिको १२ अर्ब रुपैयाँको रहेको थियो ।