काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशव्यापीरूपमा सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रमबाट पाँच हजार पाँच सय ९० जना लाभान्वित भएका छन् । ग्लोबल मनी विक २०२४ लाई सफल बनाउने उद्देश्यले बैंकले देशैभरका सातै प्रादेशिक कार्यालय र सबै शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।
यही चैत्र ५ गतेदेखि ११ गतेसम्म ग्लोबल मनी विक २०२४ प्रोटेक्ट योर मनी, सेक्युअर यो फ्युचर भन्ने मूलनाराका साथ देशव्यापीरूपमा सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरेको हो । ग्लोबल मनी विक वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यले वार्षिकरूपमा मनाउँदै आएको साप्ताहिक अन्तर्राष्ट्रिय अभियान हो । नेपाल राष्ट्र बैंकले जारी गरेको वित्तीय साक्षरता मार्गदर्शन, २०७८बमोजिम बैकको देशैभरका शाखा कार्यालयहरूले विद्यार्थी, युवा, प्रहरी, कर्मचारी, मजदुर, कृषक, साना उद्यमी, महिला विप्रेषण प्रापक ग्राहकहरूलाई लक्षित गरी एक सप्ताहसम्म ज्ञान, सिप तथा बैंकिङ आदत सिकाउन उद्देश्यले वित्तीय सचेतना कार्यक्रम सञ्चालन गरेको हो । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा दुई सय ८७ वटा शाखा कार्यालय, तीन सय पाँच वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ, ७१ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।