जर्मनी । युरोपेली केन्द्रीय बैंकका प्रमुख क्रिष्टिन लागार्डले नीति निर्माताहरुले जुनमा ब्याजदर घटाउनेबारे विचार गर्ने कुरा देहोर्याएकी छिन् । उनले जर्मनीको फ्र्याङ्कफर्टमा एक कार्यक्रममा मुद्रास्फीति घट्दै जाने अनुमान गरिएकाले ब्याजदर घटाउनेबारे आगामी बुधबार नीति निर्माताहरुले विचार गर्नेबारे आफू विश्वस्त रहेको बताइन् ।
लागार्डले जुन महिनासम्म उपलब्ध हुने डाटाहरुले अन्तर्निहित मुद्रास्फीतिको मार्ग र श्रमबजारको दिशामा थप अन्तरदृष्टि प्रदान गर्ने बताएकी छिन् ।
यद्यपि युरोपमा घरेलु मूल्य दबाब अझै देखिएको छ । सेवा मुद्रास्फीति यो वर्ष उच्च रहने प्रक्षेपण अझै पनि बाँकी नै छ । तर पनि आगामी डाटामा मुद्रास्फीति दर कम हुने अपेक्षा गरिएको छ ।
भू–राजनीतिक अनिश्चितता र जर्मनीजस्ता ठूला मुलुकको घरेलु बजारमा मूल्यमा परेको दबाबको बाबजुद लेगार्डले सकारात्मक सन्देश दिन खोजेको देखिन्छ । फेब्रुअरीमा युरोजोन मुद्रास्फीति दुई दशमलव छ प्रतिशतमा थियो । तर सेवा क्षेत्रको मुद्रास्फीति तीन दशमलव नौ प्रतिशत पुगेको थियो । सन् २०२४मा औसत मुद्रास्फीति दुईृ दशमलव तीन प्रतिशतमा रहने आकलन गरिएको छ ।
युरोपेली केन्द्रीय बैंकले गत सेप्टेम्बरयता ब्याजदर स्थिर राखेको छ । सेप्टेम्बरमा ब्याजदरको रेकर्ड उच्च विन्दुमा कायम भएको थियो । अहिले बजारको ध्यान युरोपेली केन्द्रीय बैंकले यो दर कटौती कहिले सुर गर्छ भन्नेतर्फ छ । मुद्रा बजारले डिसेम्बरसम्म तीनवटा कटौती हुनसक्ने आकलन गरेको छ ।