न्युयोर्क । सातौँ विश्व नेवा दिवस यस पालि पनि नेवा गुठी न्युयोर्कले एक कार्यक्रमको आयोजना गरी भव्य रुपमा मनाएको छ । न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावास उपवाणिज्यदूत संगीता न्यौपानेले पानसमा बत्ती बाली उद्घाटन गरिएको सो कार्यक्रममा गुठीका सजना महर्जनले स्वागत भाषण गरेकी थिइन् । कार्यक्रममा सहभागी न्युयोर्कमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले आआफ्नो मन्तव्य व्यक्त गर्दै शुभकामना दिए । यसरी शुभकामना दिनेहरुमा नेपाल अमेरिका कलाकार संघका अध्यक्ष वसन्ती राई, नेपाल नर्थ अमेरिकाका मोडल जुबली शेर्पा, किरात राई एसोसिएसनका अध्यक्ष ममता राई, हिमालयन बुद्धिष्ट कम्युनिटीका अध्यक्ष हृदय तुलाधर, न्युयोर्कका लागि नेपाल सरकारका पर्यटनदूत गोकुल श्रेष्ठ, फिफ्नाका अध्यक्ष तोरंग गुरुङ थिए । कार्यक्रममा नेवा गुठी न्युयोर्कका संस्थापक बीके नेवाले न्युयोर्कमा नेवा गुठी किन र के कालागि स्थापना गरेको भनी विस्तृत जानकारी गराएका थिए । गुठीका संस्थापक अध्यक्ष आदित्य महर्जनले नेवा कला र संस्कृति के हो, नेवा भनेको के हो भन्नेबारे बताएका थिए । अर्का पूर्वअध्यक्ष निर्मल प्रधानले नेवा दिवस किन मनाइयो, यो नेवा सभ्यता के हो भन्नेबारे बताउँदै न्युयोर्कमा नेवाहरुले परापूर्वकालदेखि चलाउँदै आएको एउटा महत्वपूर्ण अंग सिगुठीबारे जानकारी गराएका थिए । सिगुठीले नेवाहरुको मृत्यु हुँदा सम्पूर्ण कार्य गरिदिन्छ । त्यो गुठी अब न्युयोर्कमा पनि अति आवश्यक भएकोले सिगुठी स्थापना गर्न लागेको जानकारी पनि उनले गराए । उनले केही नेवाहरुले नेवा भाषा बोल्न नआउनेलाई दिनको एउटा शब्द बोलेर सिक्न आह्वान गर्दै भाषा सिक्ने प्रण गरौँ भने । कार्यक्रममा प्रमुख अतिथि नेपाली वाणिज्य महादूतावासका उपवाणिज्यदूत संगीता न्यौपानेले आफ्नो मन्तव्य राख्ने क्रममा नेवा गुठीले निम्तो दिई बोलाएकोमा धन्यवाद दिँदै आफू नेवा कल्चरबाट एकदमै प्रभावित भएको बताइन । उनले विश्व नेवा दिवसको अवसरमा सम्पूर्ण नेवा समुदायलाई बधाई तथा शुभकामना दिँदै हालै नेवा गुठी न्युयोर्कले नेपालबाट चोरेर ल्याएका १५औँ–१६औँ शताव्दीका प्राचीन मूर्तिहरु चार थान अमेरिकी सरकारले वाणिज्य दूतावासलाई हस्तान्तरण गरेको उक्त मूर्तिहरु नेवा गुठीले आफ्नै पहल र खर्चमा नेपाल लगी नेपाल सरकारलाई हस्तान्तरण गरी सहयोग गरेकोमा धन्यवाद दिए । उनले भने, “यी मूर्तिहरु हस्तान्तरण गरेको कार्यबाट नेवा गुठी आफ्नो कला सम्पदा संरक्षणप्रति कति सचेत छ भन्ने कुरा स्पष्ट हुन्छ ।” उनले यसपालिदेखि नेवा गुठीले न्युयोर्कमा रहेका प्रतिभाशाली जेहेन्दार विद्यार्थीहरुलाई प्रोत्साहनस्वरुप कदरपत्रद्वारा सम्मान गर्ने कार्यको थालनी गरिएको बताउँदै यसपालि अनुज श्रेष्ठ, जेम्स कर्माचार्य, प्रिन श्रेष्ठ, उरुषा महर्जन, प्रिन्स कर्माचार्य,अहृश तुलाधारलाई सम्मान गरिएको बताए । कार्यक्रमको अन्त्यमा गुठीका अध्यक्ष एवं सभापति विजयमान सिंहले कार्यक्रममा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधि, कलाकार, पत्रकार, पाहुना, उपवाणिज्यदूत संगीता न्यौपानेलगायत सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । अध्यक्ष सिंहले विश्व नेवा दिवसबारे बोल्दै यसपालिदेखि गुठीले न्युयोर्कमा रहेका जेहेन्दार विद्यार्थीहरुलाई नेवा कला र संस्कृतिबारे जानकारी गराउँदै उनीहरुलाई हौसला बढाउनका लागि कदरपत्र दिन लागेको, सिगुठी स्थापना गर्ने तयारी गरिएको बताए । उनले महावाणिज्य दूतावासले मूर्तिहरु नेपाल पु¥याउन गुठीलाई विश्वास गरेकोमा धन्यवाद पनि ज्ञापन गरे । गुठीका महासचिव सुवर्ण शाक्यद्वारा सञ्चालन गरिएको सो कार्यक्रममा नेवाहरुको अति लोकप्रिय धिमय सामूहिक नाच प्रस्तुत गरिनुका साथै नेवारी भोजको पनि आयोजना गरिएको थियो ।