काठमाडौं । काठमाडौं उपत्यकाका चार ठाउँमा जुत्ता चप्पल व्यापार महोत्सव आयोजना गरिएको छ । जुत्ताचप्पल उत्पादन गर्ने उद्योगी व्यावसायीहरूको समूह नेपाली जुत्ता घरले स्वदेशमा उत्पादित जुत्ताचप्पल र स्वदेशी ब्रान्डलाई आम उपभोक्ताको बीचमा परिचित गराउने उद्देश्यले महोत्सव आयोजना गरेको हो ।
बुधबारदेखि काठमाडौंको बुद्ध मल बालाजु, न्युरोड मल न्युरोड, ललितपुरको कुमारीपाटी र सातदोबाटोमा व्यापार महोत्सव सुरु भएको छ । जुत्ता महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले उद्घाटन गरेका थिए । कार्यक्रममा उनले देशमा हाल भएको आर्थिक मन्दीबाट माथि उठ्न र आम उपभोक्तालाई नेपाली उत्पादन प्रयोग गर्न आकर्षित गर्न पनि यस्ता खालका मेला महोत्सव आयोजना गर्न जरुरी रहेको बताए ।
महोत्सव समापनपछि चारै स्थानमा सबै सहभागी कम्पनीहरूको सहभागितामा स्थायी सोरूम नियमितिरूपमा सञ्चालन हुने मेला संयोजक होमनाथ उपाध्यायले बताए । मेलामा नेपालमा स्थापित चर्चित जुत्ताचप्पल उत्पादक कम्पनी र ब्रान्डहरू रोयल सु इन्डस्ट्रीको उत्पादन रोयल सुज, बेस फुटवेयरको उत्पादन बीएफडियर हिल र बीएफ स्पोर्ट, लालिगुराँस फुटवेयरको क्रस रोड सुज, शुभकामना फुटवेयरको फस्टवाक सुज, डीजे सुज कम्पनीको डीजे सज, रन सुज इन्ड्रस्टजको रन सुज, कोसेली छालाजुत्ता उद्योगका कोसेली, स्मार्ट सुजका स्मार्ट गरी आठ वटा कम्पनी र ब्रान्डहरूको सहभागिता रहनेछ ।