काठमाडौँ जेठ २७
सहयोगी विकास बैंकको लाभांश पारित भएको छ । बैंकको यही जेठ २४ गते सम्पन्न भएको १६औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट १८ दशमलव ७२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बैंकले उक्त वार्षिक साधारणसभामार्फत सिटिजन्स बैंक इन्टरनेशनलसँग विलय हुुने प्रस्ताव समेत पारित गरेको छ । यसको लागि बैंकले एकबराबर शन्य दशमलव ९१७५ को स्वाप रेसियो कायम गरेको छ ।
जसअनुुसार सहयोगीको एक सय कित्ता सेयरबराबर सिटिजन्स बैंकको ९१ दशमलव ७५ कित्ता सेयर प्राप्त हुुनेछ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा नौ करोड २२ लाख ८२ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा सात करोड ४१ लाख ४० हजार रूपैयाँ रहेको थियो ।हाल चुक्ता पुँजी ५० करोड ९६ लाख ६८ हजार रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा चार अर्ब ७० करोड छ लाख ४२ हजार रूपैयाँ निक्षेप संकलन गरी चार अर्ब १६ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा १८ करोड ५४ लाख ९६ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा बैंकले चार अर्ब ३३ करोड ६१ लाख ४८ हजार रूपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ९४ करोड ५७ लाख रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १६ करोड दुुई लाख ४० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ६९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।