काठमाडौँ । सहकारीको रकम ठगीबारे छानबिन गर्नका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय समिति गठन गर्न पुनः माग गरेको छ । मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले सहकारीको रकम अपचलमा स्वयं उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने नै संलग्न देखिएको आरोप लगाउँदै संसदीय छानबिन गठनको माग गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले सहकारीको रकम अपचनमा गृहमन्त्री नै संलग्न भएकाले निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिनका लागि संसदीय समिति गठनको माग गरेको हो । आफ्नो मागप्रति सरकार गैरजिम्मेवार हुन्छ र समिति नबनेसम्म संसद्मा हुने अवरोधको जिम्मा स्वयं सरकारले नै लिनुपर्ने कांग्रेसको भनाइ छ ।
प्रमुख प्रतिपक्षी दलका हैसियतले रचनात्मक रुपमा तर सरकारका कमिकजोरीलाई सशक्त रुपमा उठाउने विषयमा बैठक एकमत रहेको प्रमुख सचेतक लेखकले बताए ।