पोखरा । पर्यटकीय राजधानी पोखरामा नेपालको पायोनियर एड्भेञ्चर कम्पनी हाइग्राउण्ड एड्भेञ्चर्स नेपालले नेपालमै पहिलोपटक सावर बञ्जी सुरु गर्ने भएको छ । बञ्जी गर्दा पानीको फोहोराको मज्जा लिन पाइनेछ ।
कम्पनीले हेम्जामा सन्चालनमा गरिरहेको बञ्जीमा करिब ५० लाख रुपैयाँ थप लगानी गरी सावर बञ्जीको अवधारणा ल्याइएको कम्पनीका प्रवन्ध निर्देशक दिनेश महर्जनले बताए । ६ हजार ५ सय रुपैयाँमा फोटो, भिडियो र टिसर्टसहित बञ्जी बुक गर्न सकिनेछ । यसमा सर्टिफिकेट र लेकसाइडदेखि हेम्जासम्मको दुईतर्फी यातायातको सुविधा समेत समावेश छ ।
हाइग्राउण्डले युरोपेली एड्भेञ्चर कम्पनी ‘बञ्जी लाट्भिया’सँगको सहकार्यमा सन् २०१४ नोभेम्बर १७ मा बञ्जी जम्प सुरू गरेको थियो । क्यान्टिलिभर ब्रिजको मोडलमा बनाइएको यो नेपालकै पहिलो टावर बञ्जी पनि हो । कम्पनीमा शरद गोल्छा, भरत गोल्छा, अभिनव चुरिवाल र दिनेस महर्जनको लगानी छ ।