अमेरिका, जेठ २७
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ४० डलर माथि उक्लिएको छ । तीन महिनामा पहिलोपटक वेस्ट टेक्सास इन्टरमेडिएट (डब्लुटीआई)को प्रतिब्यारेल मूल्य ४० डलर माथि पुगेको हो । तेल निर्यातक राष्ट्रहरुको समूह ओपेक र यसका मित्रराष्ट्रहरुले तेल उत्पादन कटौती थप समयसम्म जारी राख्ने सहमति गरेको र साउदी अरेबियाले दुई दशकयताकै तेल मूल्य वृद्धि गरेपछि बजारमा कच्चा तेलको मूल्य बढेको हो । ओपेक र यसका मित्रराष्ट्रले प्रतिदिन १ करोड ब्यारेल तेल कटौती थप १ महिनासम्म लम्ब्याएका छन् । जुलाई अन्त्यसम्म तेल उत्पादनमा कटौती हुनेछ । आपूर्ति र मागलाई सन्तुलनमा राख्न तेल उत्पादन कटौती गरिँदै आएको छ ।
उक्त तेल कटौतीको परिमाणले विश्व आपूर्तिको १० प्रतिशत हिस्सा ओगट्छ । फक्स बिजनेसका अनुसार अमेरिकी बेन्चमार्क डब्लुटीआई २.२५ प्रतिशतले बढेर ४०.४४ डलर प्रतिब्यारेल पुगेको छ । त्यस्तै अन्तर्राष्ट्रिय स्ट्यान्डर्डको ब्रेन्ट क्रुड १.२३ प्रतिशतले बढेर ४२.८२ डलर प्रतिब्यारेल पुगेको छ । पछिल्लो समय विश्व महामारीका कारण विश्वभर गरिएको लकडाउन खुकुलिँदै गएपछि तेलको मूल्य पनि बढ्नथालेको छ ।
लकडाउनका कारण ३ करोड ब्यारेल प्रतिदिन तेल माग घटेको थियो । साउदी अरेबिया र रुसले उत्पादन जारी राखेपछि बजारमा तेलको मूल्य ह्वात्तै घटेको थियो । दुई देशबीच तेलको मूल्य युद्ध नै चलेको थियो । तर पछि दुवै देशले कटौतीको लागि सहमत भएका थिए । एकपटक तेलको मूल्य अमेरिकामा ऋणात्मक नै हुनपुगेको थियो । त्यसयता भने निरन्तर तेलको मूल्यमा सुधार हुँदै आएको छ ।