काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की सांसद बिमला घिमिरे निर्वाचित भएकी छिन् । सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको बुधबारको बैठकमा उपाध्यक्ष पदको मतविभाजनका माध्यमबाट सम्पन्न निर्वाचनमा ३९ मतसहित घिमिरे निर्वाचित भएको घोषणा गरे ।
एमालेका सांसद बिमला घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ सांसदहरुले मतदान गरे भने उक्त प्रस्तावमा हुन्न भन्नेमा १६ मत परेको थियो । नवनिर्वाचित उपाध्यक्ष घिमिरेलाई अध्यक्ष दाहालले बधाई तथा शुभकामना व्यक्त गरे । उक्त मतविभाजन प्रक्रियामा ५५ जना सांसद सहभागी भएका थिए ।
अध्यक्ष दाहालले बहुमत प्राप्त नगरेपछि सांसद पुडासैनीलाई उपाध्यक्ष पदका लागि अस्वीकृत भएको घोषणा गरेका थिए । उक्त पदमा नेपाली कांग्रेसका सांसद विष्णुदेवी पुडासैनीको पक्षमा १६ र विपक्षमा ३९ मत परेको थियो । यही चैत ३० गते शुक्रबार अपराह्न १ः१५ बजे सभाको अर्को बैठक बस्ने छ ।