भक्तपुर । नेपाल सैनिक प्रतिष्ठान खरिपाटीमा आयोजित स्नातक अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कार्यक्रममा बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि सङ्कटको बेलामा राष्ट्रिय स्वार्थ र राष्ट्रिय हितहरूको संरक्षणमा नेपाली सेनाले महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् ।
उनले देशभित्र विपद् व्यवस्थापन, पर्यावरण संरक्षण, विकास निर्माणका कामदेखि सङ्कटका बेलामा राष्ट्रिय स्वार्थ र हितको संरक्षणमा नेपाली सेनाले महत्वपूर्ण योगदान पुर्याएको बताए ।
नेपाली शान्ति सैनिकले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्तिदूतका रूपमा खटिएर विश्वशान्ति स्थापनार्थ महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै विश्वमाझ शान्ति सैनिकको देशका रूपमा नेपाललाई परिचित गराउन नेपाली सेनाको ठूलो योगदान रहेको बताए ।
प्रधानमन्त्री दाहालले आफ्नो जिम्मेवारीलाई उत्कृष्ट ढङ्गबाट पूरा गर्न सफल हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत स्थापित नेपाली सेनाको योगदानलाई सदैव स्मरण गर्नुपर्ने बताए ।
उनले राष्ट्र र नागरिकको सुरक्षामा सम्भावित चुनौतीको पूर्वानुमान गर्न सक्ने तथा राष्ट्रिय चुनौतीको सही आँकलन गरी सम्भावित खतराबाट देशलाई सुरक्षित राख्ने कार्यको नेतृत्व सेनाले गर्दै आएको बताए । उनले अहिले विक्षार्थीको सङ्ख्या बढ्दै गए पनि तालिम इलाका सीमित रहेकाले पनौतीमा यसको उपकेन्द्र निर्माण गर्ने सङ्गठनको प्रस्तावमा सरकारले आवश्यक सहयोग गर्ने बताए ।
सङ्गठनको अधिकृतको रूपमा आयुक्त भई राष्ट्र र राष्ट्रवासीको सेवामा तल्लीन रहन नवआयुक्त अधिकृतलाई सदासर्वदा ऊर्जा र हौसला प्राप्त होस् भन्दै उनले शुभकामना व्यक्त गरे । कार्यक्रममा नेपाली सेनाले कवाज प्रदर्शन गर्नुका साथै युद्धकला प्रदर्शन गरेका थिए । कार्यक्रममा रक्षामन्त्री हरिप्रसाद उप्रेती, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा विभिन्न निकायका विशिष्ट व्यक्तिको सहभागिता रहेको थियो ।