काठमाडौ । साहसिक पर्यटकको हब द क्लिफ नेपालले नयाँ वर्ष २०८१ को अवसरमा ‘नाइट बञ्जी’ गर्ने भएको छ । साथै, चैत्र ३० गते साँझ लाइभ म्युजिक तथा ‘फायर डान्स’ गरी नयाँ वर्षलाई स्वागत गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालक कम्पनीले साहसिक खेलकुदका पारखीहरूलाई नयाँ अनुभव दिन नाइट बञ्जी आयोजना गरेको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए । कम्पनीले यसअघिका नयाँ वर्षहरूमा पनि नाइट बञ्जी गर्दै आएको थियो । नयाँ वर्षको अवसरमा कम्पनीले चैत ३० र वैशाख १ क्लिफको रिसोर्टमा रुम बुकिङ गर्दा १५ प्रतिशत छुटको समेत व्यवस्था गरिएको जनाएको छ ।
कालीगण्डकी नदीको खोंचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बञ्जी जम्प निर्माण गरिएको छ । रिसोर्टसहितको एड्भेन्चर हव द क्लिफमा बञ्जी र स्विङसँगै विश्वकै अग्लो व्यावसायिक स्काइ रोप साइक्लिङ, स्काइ क्याफे, गुलेली पिङ, क्रेजी ब्रिज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे, वाल क्लाइम्बिङलगायत गतिविधि सञ्चालनमा छन् ।