दोलखा । गाई आनुवांशिक स्रोत केन्द्र जिरीले दैनिक चार सय लिटर दूध उत्पादन गर्ने गरेको जनाएको छ । सो केन्द्रको फार्ममा हाल उन्नत जातका विदेशीसहित एक सय २० वटा गाई तथा साँढे रहेको कार्यालयका प्रमुख डा गोपाल गिरीले जानकारी दिए ।
कार्यालय प्रमुख डा गिरीका अनुसार यहाँको दूध सदरमुकाम चरिकोटका होटलहरूमा खपत हुँदै आएको छ । आनुवांशिक स्रोत केन्द्र जिरीमा चार वटा कोरियन गाई समेत छन् । कोरियाबाट ल्याइएका चारवटा गाईमध्ये एउटा जेठ ब्याउने छ । उक्त गाई ब्याएपछि दूध उत्पादन वृद्धि हुने डा गिरीले बताए । होलिस्टन जातको उक्त गाईले एक पटकमा ४० लिटरसम्म दूध दिने उनको भनाइ छ । आफ्नै चरण क्षेत्र रहेको यस केन्द्रमा गाईको आहारको लागि विभिन्न किसिमको घाँससमेत लगाइएको छ । दूध तथा मासुका लागि पालिने जनावरलाई सुख्खा महिनामा अत्यन्तै लाभकारी मानिने पोषणयुक्त जमारे घाँस लगाइएको जनाइएको छ ।
यस्तै, कार्यालयले गत वर्षको भन्दा यस वर्ष आन्तरिक आम्दानी पनि वृद्धि हुने जनाएको छ । गत वर्ष ८९ लाख आन्तरिक आम्दानी गरेको केन्द्रले यस वर्ष एक करोडभन्दा बढी आम्दानी गर्ने अनुमान गरेको कार्यालय प्रमुख डा गिरीले बताए । केन्द्रले गत माघमा १८ वटा उन्नतजातको गाई तथा साँढे बिक्रीबाट आठ लाख ४४ हजार आम्दानी गरेको थियो । २०७५ सालसम्म जिरी पशु विकास फार्मको रूपमा रहेको उक्त फार्मलाई त्यसपछि भने गाई आनुवांशिक केन्द्रको रूपमा विकास गरिएको थियो । विशेषगरी जर्सी गाईको उन्नत नश्लका बाच्छाबाच्छी उत्पादन गर्ने गरिएको केन्द्रले जनाएको छ । स्रोत केन्द्रमा गाईको जेनेटिकलगायतका सबै अध्ययन, अनुसन्धान र नश्ल सुधारलगायतका काम गरिनेछ । यस्तै, केन्द्रले उन्नत जातका बंगुरका पाठापाठी पनि उत्पादन गर्ने गरेको छ । स्रोत केन्द्रमा ड्युरेक, योर्कसायर, लेन्डरेस जातका बंगुरका शुद्ध नश्लका पाठापाठी उत्पादन हुने गरेको केन्द्रले जनाएको छ ।