बैंक तथा वित्तीय संस्थाहरुमा कुल निक्षेप खाताको संख्या पाँच करोड ४४ लाख सात सय २० पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी गरी कुल ५४ वटा वित्तीय संस्थामा सो संख्यामा निक्षेप खाता सञ्चालनमा रहेका छन् । केन्द्रीय बैंकका अनुसार कर्जा खाताको संख्या भने १८ लाख ७६ हजार चार सय ७३ छ । जसअनुसार निक्षेप र कर्जा खाताबीचको अन्तर पाँच करोड २५ लाख २४ हजार दुई सय ४७ छ ।
२०८० फागुन मसान्तसम्म वाणिज्य बैंकहरुमा मात्र सञ्चालनमा रहेका निक्षेप खाताको कुल संख्या भने चार करोड ६६ लाख सात हजार छ सय ७३ वटा छ । यस अवधिमा वाणिज्य बैंकहरुमा सञ्चालनमा रहेको कुल कर्जा खाताको संख्या भने १५ लाख ४६ हजार दुई सय ७७ वटा छ । सोही आधारमा वाणिज्य बैंकहरुमा निक्षेप र कर्जा खाताको बीचमा मात्र चार करोड ५० लाख ६१ हजार तीन सय ९६ वटा खाताको अन्तर देखिएको छ । विकास बैंकहरुमा भने चालू आर्थिक वर्षको पछिल्लो आठ महिनाको अवधिमा ५९ लाख ४१ हजार आठ सय ८६ वटा निक्षेप खाताहरु सञ्चालनमा छन् ।
विकास बैंकहरुमा सञ्चालनमा रहेका कुल कर्जा खाताको संख्या ४२ हजार चार सय ६७ छ । विकास बैंकहरुमा कर्जा खाताको तुलनामा निक्षेप खाता ६६ लाख ५४ हजार एक सय ५७ वटाले बढी छ । फाइनान्स कम्पनीहरुमा पछिल्लो अवधिमा सञ्चालनमा रहेका कुल निक्षेप खाताको संख्या आठ लाख ५१ हजार एक सय ६१ वटा छ । यस अवधिमा फाइनान्स कम्पनीहरुमा सञ्चालनमा रहेको कुल कर्जा खाताको संख्या ४२ हजार चार सय ६७ वटा छ । सोही आधारमा फाइनान्स कम्पनीहरुमा सञ्चालनमा रहेको निक्षेप र कर्जा खाताबीचको कुल अन्तर आठ लाख आठ हजार छ सय ९४ वटा खाता छ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या भने छ हजार चार सय ६४ वटा छ । जसमध्ये वाणिज्य बैकहरुको पाँच हजार ४१, विकास बैंकहरुको एक हजार एक सय ३५ वटा र फाइनान्स कम्पनीहरुको दुई सय ८८ वटा शाखाहरु सञ्चालनमा छन् । यस अवधिमा कुल एटीएम काउन्टरको संख्या भने पाँच हजार ९१ वटा पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरुको चार हजार छ सय ९९ वटा, विकास बैंकहरुको तीन सय ४८ वटा र फाइनान्स कम्पनीहरुको ४४ वटा एटीएम काउन्टरहरु सञ्चालनमा रहेको राष्ट्र बैंकको भनाइ छ । पछिल्लो अवधिमा धेरैवटा विकास बैंक र फाइनान्स कम्पनीहरु मर्जर तथा प्राप्तिमार्फत वाणिज्य बैंकहरुमा गाभिएका कारण वाणिज्य बैंकहरुको तुलनामा विकास बैंक र फाइनान्स कम्पनीहरुको शाखा र एटीएम काउन्टरको संख्या कम देखिएको हो ।