काठमाडौं । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले अटोमोबाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरू ल्याउन सरकारसँग आग्रह गरेको छ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वको एक प्रतिनिधि मण्डलले हालै अर्थमन्त्री वर्षमान पुनसँग भेटगरी सुस्ताएको नेपालको अटोमोबाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरू ल्याउन आग्रह गरेको हो ।
साथै, नाडाले आर्थिक वर्ष २०८१/८२ का सन्दर्भमा तयार गरेको सुझावहरू समेत पेस गरेको छ । यस्तै, नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नेपालको अटोमोबाइल व्यवसायको उत्थानका लागि आवश्यक हुने २० बुँदे नीतिगत सुझावहरू समेत अर्थमन्त्रीलाई बुझाएका थिए । छलफलको क्रममा खासगरी मेक इन नेपालको अवधारणाअनुसार आयात प्रतिस्थापन तथा रोजगारी सिर्जनालाई मध्यनजर गर्दै देशलाई औद्योगिकीकरणतर्फ अग्रसर गराउन अटोमोबाइल व्यवसायीहरूले अत्यधिकरूपमा सवारी साधनहरू उत्पादन गर्ने सिकेडी प्लान्ट स्थापना गर्दै लगेकाले सो लगानीलाई सुरक्षित गर्न हाल अन्तःशुल्क महसुलमा दिइएको छुटलाई बढाउन व्यवसायीहरूले माग गरेका थिए ।
त्यसैगरी त्यस्तै पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरूलाई बैकहरूबाट हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालु रेसियो ५० प्रतिशतको सीमा बढाएर ७५ प्रतिशत बनाउन नाडाले सुझाएको छ । यस्तै, बैंक तथा वित्तीय निकायहरूलाई अटोमोबाइल क्षेत्रमा लगानी गर्नका लागि प्रमुख बाधकको रूपमा रहेको हायर पर्चेज कर्जाको जोखिम भारलाई १२५ बाट घटाएर एक सय प्रतिशत कायम गर्ने र हाल कायम रहेको २५ लाखको क्यापलाई ५० लाख कायम गरिनुपर्ने भन्ने नाडाको सुझावलाई अर्थमन्त्रीले गम्भीरतापूर्वक लिएको नाडाले जनाएको छ ।
छलफलको क्रममा खुला सिमानाबाट नेपाली बजारमा स्पेयर पार्टस, टायर तथा लुब्रिकेन्ट्सको अनधिकृतरूपमा आयात भइरहेकाले वैधानिक तरिकाबाट व्यवसाय गर्ने व्यवसायीहरू मर्कामा परेकाले सीमा र सीमाबाहिरका नाकाहरूमा समेत कडाइसाथ जाँच गर्ने नाडाको सुझावलाई सरकारले गम्भीरतापूर्वक लिने आश्वासन समेत अर्थमन्त्रीले दिएका थिए । अर्थमन्त्री पुनले नाडाको तर्फबाट राखिएका नीतिगत विभिन्न सुझावहरूप्रति जिज्ञासा र चासो राख्दै ती सुझावहरूका सम्बन्धमा सरकारले आवश्यक पहल गर्ने बताएका थिए । उक्त छलफलमा नाडाका प्रदेश उपाध्यक्ष तेजनारायण साह, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा एसोसिएसन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।