काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको ५३ करोड नौ लाख रुपैयाँभन्दा बढी ऋण भुक्तानी गरेको छ । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका लागि ऋण लिएको थियो ।
सो ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको २०८० चैत्र महिनाको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजकोे आंशिक गरी चैत ३० गते ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ रुपैयाँ भुक्तानी गरेको निगमले जनाएको छ । निगमका प्रवक्ता रमेश पौडेलले जारी गरेको विज्ञप्तिअनुसार निगमले २०८० चैत्रसम्मको अवधिमा पाँच अर्ब ३६ करोड ६६ लाख ८६ हजार नौ सय ६८ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको छ । साथै, विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकूल असर परेकोले सो असर रहेको अवधिको ब्याजको ब्याज, हर्जाना र पेनल छुट गर्न निगमले दुवै कोषसँग आग्रह समेत गरेको छ ।