टोकियो । जापानले आफ्नो मुद्राको मूल्यमा आएको गिरावट रोक्न आवश्यक कदम चाल्ने भएको छ । जापानका अर्थमन्त्री सुनिची सुजुकीले अमेरिकी डलरविरुद्ध जापानी मुद्रा येन ३४ वर्षयताकै तल्लो तहमा झरेको भन्दै यसको सुधारका लागि आवश्यक कदम चाल्ने बताएका हुन् ।
अर्थमन्त्री सुजुकीले सोमबार विदेशी मुद्राको चलायमानलाई नजिकबाट नियालिरहेको बताउँदै मुद्राको मूल्यमा आएको गिरावट रोक्न सबै आवश्यक कदम चाल्ने बताएका हुन् ।
ओरालो लागिरहेको जापानी मुद्रा टोक्योमा अमेरिकी डलरको तुलनामा करिब एक सय ५३ दशमलव ७० सम्म कमजोर भएको छ । यस्तो कम स्तर सन् १९९० पछि देखिएको थिएन । यसबाट जापानी सरकारका लागि सन् २०२२ मा गरेजस्तै हस्तक्षेप गर्ने सम्भावना सिर्जना भएको छ ।
‘हामीले घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौँ र सबै आवश्यक कदम चाल्नेछौँ’, मन्त्री सुजुकीले पत्रकारहरूसँग भने ।
जापानी येन पहिले नै विगतको स्तरभन्दा तल झरेको छ । जापानले पहिला नै गिरावट रोक्न हस्तक्षेप गरेको थियो । सन् २०२२ अक्टोबरमा एक अमेरिकी डलरको तुलनामा एक सय ५२ येनको नजिक पुगेपछि जापानी अधिकारीहरूले डलर बेचेर येन किनेका थिए ।