काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकको क्रेडिट कार्डबाहक ग्राहकहरूलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ ।
आइएमई ट्राभल्ससँगको सहकार्यमा ल्याइएको यस योजनाअन्तर्गत हाल आन्तरिक पर्यटकीय स्थानहरू अन्नपूर्ण बेस क्याम्प, धार्मिक गन्तव्यको रूपमा स्थापित मुक्तिनाथ तथा अन्तर्राष्ट्रिय टुर प्याकेजमा थाइल्याड, वाली, दुबई भ्रमणको लागि सहुलियत मूल्यको योजनाहरू ल्याएको छ । बैंकले आन्तरिक भ्रमणका लागि न्यूनतम तीन हजार दुई सय १० रुपैयाँ र विदेश भ्रमणको लागि छ हजार रुपैयाँको सरल किस्ताबन्दी योजना ल्याएको हो । बैंकको क्रेडिट कार्डबाहक ग्राहकहरूले आइएमई ट्राभल्समा गई आफूलाई अनुकूल टुर प्याकेज किस्ताबन्दीमा खरिद गर्न सक्ने छन् । साथै यो योजनामा आबद्ध भई क्रेडिट कार्ड लिन चाहने ग्राहकहरूलाई बैंकले कार्ड जारी शुल्कमा समेत ५० प्रतिशत छुट पाउन सक्ने छन् ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको तीन सय ५४ वटा शाखा कार्यालय, तीन सय ७९ वटा एटीएम, दुई सय ७७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्र रहेका छन् ।
ग्लोबल आइएमई बैंकलाई सबैका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधासहितका योजनामार्फत आफ्ना ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।