काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो स्थापनाको १७ औं वर्ष पूरा गरी १८ औं वर्षमा प्रवेश गर्ने क्रममा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालभरका पिछडिएका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको संस्था स्नोयाक फाउन्डेसनलाई सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो सत्रौं वार्षिकोत्सव यही वैशाख सात गते मनाउँदै छ ।
विशेष गरी विपन्न परिवारमा जन्मेका बालबालिकालाई शिक्षा प्राप्त गर्ने आधारभूत अधिकार प्रदान गर्न संस्थालाई निकै कठिन चुनौतीहरूको सामना गर्नुपर्ने हुँदा सञ्चालनमा केही सहजता होस् भन्ने हेतुले बैंकले एक समारोहका बीच एक लाख रुपैयाँको चेक संस्थाका सञ्चालक श्रीमणिराज शर्मालाई हस्तान्तरण गरेको हो । बालबालिकाहरूको उज्ज्वल भविष्यको परिकल्पना गर्दै स्नोयाक फाउन्डेसनले विगत एक दशकभन्दा बढी समय गुणस्तरीय शिक्षामा विद्यार्थीको पहुँच बढाउन समर्पित गरेको र उक्त रकम पनि बालबालिकाको शिक्षामा खर्च गर्ने कुरा संस्थाका सञ्चालकले जानकारी दिए । हाल फाउन्डेसनले पाँच सय बालबालिकालाई शिक्षा प्रदान गरिरहेको छ ।
हरेक वर्ष बैंकले आफ्नो वार्षिक उत्सवको उपलक्ष्यमा सामाजिकरूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो वार्षिक कार्यतालिकाअनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी गराएको छ ।
बैंकले देशैभरि फैलिएका आफ्ना एक सय ९० वटा शाखा, एक सय ५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाईहरूबाट १७ लाख ४६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप सात वटा शाखाहरू विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।