किएभ, युक्रेन । युक्रेनले सन् २०२२ को फेब्रुअरीमा रूसको आक्रमण सुरु भएयता सैनिकसहित करिब ३७ हजार व्यक्ति ‘बेपत्ता’ रहेको मङ्गलबार जनाएको छ ।
रूसी सेना अझै पनि युक्रेनको पाँच भागको एक भागमा उपस्थित रहेकाले हराइरहेकाहरूको सही संख्या गणना गर्न कठिन छ । कुनै पनि पक्षले नियमितरूपमा सैन्य हताहतको तथ्याङ्क औपचारिकरूपमा सार्वजनिक गर्दैन ।
‘बालबालिका, सर्वसाधारण र सेनागरी करिब ३७ हजार मानिस बेपत्ता भएका छन् । यो संख्या अझै धेरै हुन सक्छ,’ युक्रेनका मानव अधिकार आयुक्त दिमित्रो लुबिनेट्सले भने । युक्रेन र रेडक्रसले सन् २०१४ मा मस्को समर्थित पृथकतावादीसँग युद्ध सुरु भएयता रूसले गैरकानुनीरूपमा हिरासतमा लिएका करिब एक हजार सात सय व्यक्तिको पहिचान गरेको उनले बताए ।
मानव अधिकारवादी समूहहरूले रूसले कब्जा गरेको क्षेत्रमा बालबालिकालाई जबर्जस्ती बेपत्ता पारेको र अपहरण गरेको आरोप लगाएका छन् ।