धनुषा । जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरमा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको फेला परेको जानकारी दिए । उनका अनुसार युवतीको शव नजिकै एक बालिकाको पनि जीवितै उद्धार गरिएको थियो ।
स्थानीयले खबर गरेपछि कपिलेश्वर महादेव मन्दिरदेखि अन्दाजी पाँच सय मिटर दक्षिणतर्फ पोखरीको छेउमा एक युवतीको जल्दै गरेको शव र अन्दाजी आठ महिनाको बालिकाको जीवितै उद्धार गरिएको रञ्जन अवाले बताए । बालिकाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
डिएसपी अवाले मृत्यु हुने युवती महोत्तरी मनरासिसवाका अन्दाजी २२ वर्षीय प्रियंका महतो रहेको बताए । युवतीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।