बैंकक, जेठ २८
थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले थाई श्रमिकहरूलाई कोभिड–१९ को महामारी सकिँदासाथ कामका लागि विदेश जाने मानसिकता बनाई तयारी अवस्थामा रहिराख्न आग्रह गरेका छन् । आफ्ना प्रवक्ता नारूमोन पिन्योसिनवातमार्फत सोमबार उनले उक्त आग्रह गरेका हुन् । उनले कोभिड–१९ को महामारीपछि विदेशमा जाने गरी आफुलाई तयारी अवस्थामा राख्न आग्रह गरेको बताइएको छ ।
प्रधानमन्त्री प्रयुत चान–ओ–चाले थाई श्रमिकलाई प्राविधिक तथा भाषागत सीपका साथै शारीरिक तन्दुरूस्ती र कागजातलाई अद्यावधिक गरिराख्न भन्दै बोलाएको अवस्थामा विदेश जानसक्ने हुन आग्रह गरेका छन् । नारूमोनले प्रधानमन्त्रीको भनाइबारे थप प्रस्ट पारे, ‘कामदारको माग गर्ने मुलुकले कोभिड–१९ पछि ठूलो संख्यामा कामदारको माग गर्ने र तत्काल विदेश जान सक्ने गरी तयारी अवस्थामा रहनुस् । महामारीपछि वैदेशिक रोजगारीका अवसरहरू प्रशस्त हुनेछन् ।’
प्रवक्ताले प्रयुतलाई उद्धृत गर्दै भने, ‘थाइल्याण्डमा चीनको ताइवान, दक्षिण कोरिया, मलेसिया, जापान र इजरायलजस्ता श्रमको विश्वबजारका लागि आवश्यक पर्ने जनशक्तिको उच्च माग हुने गरेको छ ।’ कोभिड–१९ को लडाईमा थाइल्याण्डको सफलता थाई श्रमिकमा हुने नैतिकता र अनुशासनका कारण विश्व श्रम बजारबाट थाइल्याण्डको जनशक्तिको बढी माग हुने बताइएको छ ।
थाइल्याण्डका लागि कुवेती राजदूत अब्दुल्ला नामा अब्दुल्ला अलशरानले प्रधानमन्त्री प्रयुतसँग सोमबार भेट गरेको र थाइल्याण्डबाट कोभिड–१९ का कारण फिर्ता भएका कामदारहरूलाई भवन निर्माण तथा अन्य पूर्वाधारका क्षेत्रमा सहयोग गर्ने गरी माग हुने संकेत गरेको बताइएको छ । थाइ सरकारले महामारीपछि करिब एक लाख श्रमिकलाई विदेश पठाई राष्ट्रिय अर्थतन्त्रमा करिब एक खर्ब ४० अर्ब थाई भाट (चार अर्ब ४५ करोड अमेरिकी डलर) को योगदानको अपेक्षा गरेको प्रवक्ताले बताए ।