चौतारा । डढेलोले सिन्धुपाल्चोकका एक सय ९९ हेक्टर वनक्षेत्र नष्ट भएको छ । जिल्ला वन कार्यालयका अनुसार चौतारा साँगाचोकगढी नगरपालिकाको विभिन्न सामुदायिक वन डढेलोले सखाप पारेको हो ।
डिभिजन वन कार्यालयबाट परिचालित हरित स्वयंसेवक समूहका संयोजक शारदाप्रसाद चालिसेले चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी गाउँपालिका र सुनकोसी गाउँपालिकाका जङ्गल डढेलोले नष्ट भएको जानकारी दिएका छन् । उनका अनुसार मेलम्चीको २६ हेक्टर क्षेत्रफल वन डढेलोले सखाप भएको छ ।
गर्मी मौसमसँगै डढेलो लाग्ने क्रम जारी रहेकाले यकिन तथ्याङ्क प्राप्त हुन नसकेको जिल्ला वन कार्यालयका वन अधिकृत रमेश दुलालले बताए । यसबाट महत्वपूर्ण जडीबुटी, वनयजन्तु र करोडौँका रुख बिरुवा नोक्सान भएका छन् ।
जलविरे प्रहरीले वनमा डढेलो लगाउँदै गरेको अवस्थामा सिन्धुपाल्चोकमा पहिलोपटक बलेफी गाउँपालिका वडा नम्बर ७ का ३५ वर्षीय मिलन लामालाई पक्राउ गरेको छ । सेल्ताप सामुदायिक वनमा आगो लगाउँदै गरेको अवस्थामा प्रहरीले लामालाई रंगे हात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रनाउ निरञ्जन भट्टराईले जानकारी दिए ।
कानुनी व्यवस्था वन ऐन २०७६मा कसुर सावित भएमा क्षति भएको बिगो असुल गरी तीन वर्ष कैद वा ६० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।